देशभर निषेधाज्ञा लागू हुने जिल्ला कति ?

काठमाडौं । कोरोनाको संक्रमण बढ्दै गएपछि अति प्रभावित ४२ जिल्लामा पूर्ण तथा आंशिक निषेधाज्ञा लागू भएको छ । तीमध्ये ३१ जिल्लामा पूर्ण तथा ११ जिल्लामा निश्चित क्षेत्रमा निषेधाज्ञा लगाइएको हो । काठमाडौं उपत्यकामा गएको १६ गतेदेखि निषेधाज्ञा छ भने अरु २८ जिल्लामा पूर्ण र ११ जिल्लामा आंशिक निषेधाज्ञा लागू भएको छ ।

गृह मन्त्रालयका अनुसार काठमाण्डौ, भक्तपुर, ललितपुर, बाँके, सुर्खेत, कास्की, कैलाली, पर्सा, दाङ, कञ्चनपुर, पाल्पा, चितवन, बर्दिया र रूपन्देहीमा जिल्लाभर निषेधाज्ञा छ ।यसअघि ठाउँ विशेषमा निषेधाज्ञा गरिएको बर्दियामा आजदेखि आउँदो ३१ गतेसम्म पूर्ण रुपमा निषेधाज्ञा लागू भएको हो । बझाङ र बैतडीमा आज बिहानैदेखि निषेधाज्ञा लागू भएको छ भने अर्घाखाँचीमा आज रातिदेखि निषेधाज्ञा लागू हुनेछ ।

त्यस्तै सल्यान, सुनसरी, जाजरकोट, रुकुम पश्चिम, डडेल्धुरा, झापा, गुल्मी, प्यूठान, उदयपुर, बझाङ, कपिलवस्तु, नुवाकोट, धनुषा, अर्घाखाँची, बैतडी र दैलेखमा पूर्णरूपमा जिल्लाभर निषेधाज्ञा लागू गरिएको छ । कास्कीमा निषेधाज्ञा भए पनि जोरबिजोर लगाइएको छ ।

कपिलवस्तु, धादिङ, नुवाकोट र धनुषामा भोलि बिहानदेखि तथा दैलेखमा भोलि रातिदेखि निषेधाज्ञा लागू हुने गृहमन्त्रालयले जनाएको छ । बाग्लुङ, दार्चुला, मोरङ, काभ्रे, गोरखा, बाजुरा, मकवानपुर, कालीकोट, स्याङ्जा, रामेछाप र ताप्लेजुङमा ठाउँ तोकेर आंशिक निषेधाज्ञा लगाइएको छ ।

सरकारले कोरोना सङ्क्रमणको सङ्ख्या काठमाण्डौ उपत्यका तथा तराईमा पाँच सय र पहाडी जिल्लामा दुई सय पुगे निषेधाज्ञाको निर्णय गर्ने अधिकार सम्बन्धित जिल्लाका प्रमुख जिल्ला अधिकारीलाई दिएको छ ।

यो पनि पढ्नुहोस् – कोरोना संक्रमणको जोखिम बढ्दै गएपछि यसको रोकथाम तथा नियन्त्रणका लागि सरकारले आज (सोमबार) मध्यरातिदेखि आन्तरिक हवाई उडान बन्द गर्ने निर्णय गरेको छ ।

आइतबार बसेको मन्त्रिपरिषद बैठकले कोभिड१९ संकट व्यवस्थापन केन्द्र (सीसीएमसी) को सिफारिसअनुसार वैशाख २० गते राति १२ बजेदेखि आन्तरिक उडान बन्द गर्ने निर्णय गरेको एक मन्त्रीले जानकारी दिए ।उनका अनुसार राष्ट्रिय तथा अन्तर्राष्ट्रिय चार्टर्डलाई भने उडान अनुमति दिइने भएको छ ।

यसैगरी मन्त्रिपरिषद्ले वैशाख २२ गते रातिदेखि भारतलगायत सबै देशसँगको अन्तर्राष्ट्रिय उडान रोक्ने पनि निर्णय गरेको छ ।

अत्यावश्यक परेमा के गर्ने ?
अत्यावश्यक सेवा तथा काम लागि पास चाहिने छैन । निषेधाज्ञामा कडाइ गरिने भए पनि अत्यावश्यक सेवा तथा काम लागि भने नचाहिने भएको हो ।

काठमाडौं उपत्यकाका तीनवटै जिल्ला प्रशासनले तोकिएका सेवाका लागि पास नचाहिने जनाएका हुन् । निषेधाज्ञाको अवधिमा अत्यावश्यक सेवा तथा वस्तुका सवारी साधनहरू, बिरामी तथा कुरुवा, मृत्यु संस्कारमा जानु पर्ने व्यक्तिको हकमा पास आवश्यक पर्ने छैन ।

तोकेका कार्यमा जाँदा कतै अवरोध भएमा सहजीकरणका लागि नेपाल प्रहरीको १०० र १०३ मा फोन गर्न सकिनेछ । तर, अत्यावश्यक कामका लागि जिल्ला बाहिर जानुपर्ने अवस्थामा भने सम्बन्धित जिल्ला प्रशासनबाट पास लिनुपर्नेछ । कोभिड १९ संक्रमण बढ्दै गएपछि उपत्यकाका तीन जिल्लासहित देशभरका विभिन्न ४१ जिल्लामा पूर्ण तथा आंशिक निषेधाज्ञा लागू भएको छ ।

You May Also Like

Leave a Reply

Your email address will not be published. Required fields are marked *