ओली पक्षको सपना चक्नाचुर,मुख्यमन्त्री भट्टले पाए विश्वासको मत

धनगढी । सुदूरपश्चिमका मुख्यमन्त्री त्रिलोचन भट्टको सरकार जोगिएको छ ।

आज भएको विश्वासको मत लिने क्रममा उपस्थित ५१ जना सांसद मध्ये ३० जनाले मत दिएका छन् । उनलाई सरकार जोगाउनको निम्ती २७ सांसद भए पुग्ने थियो ।

सभामुख अर्जुनबहादुर थापाले भट्टले विश्वासको मत प्राप्त गरेको घोषणा गरे । उनका अनुसार भट्टको विपक्षमा ९ मत खसेको छ भने तटस्थ १२ जना बसेका छन् । यो सँगै बैठक दिउँसो ४ बजे बस्ने गरी स्थगन गरिएको छ ।

सत्ता साझेदार एमालेभित्र विवाद चुलिएका बेला मुख्यमन्त्री भट्टले विश्वासको मत लिने निर्णय गरेका हुन् ।

प्रदेशसभामा माओवादी केन्द्रसँग १३ मत छ । एमालेभित्र माधव नेपाल पक्षका १५ सांसदले भट्टको पक्षमा मत दिएका छन् ।

मुख्यमन्त्री त्रिलोचन भट्टले मंगलबार प्रदेशसभा नियमावली २०७४ को नियम १४३ को उपनियम ४ बमोजिम प्रदेशसभामा विश्वासको मत लिन प्रस्ताव पेश गरेपछि सभामुखले निर्णयार्थ पेश गर्दा उनको पक्षमा बहुमत पुगेको हो ।

मुख्यमन्त्रीलाई माओवादीसहित एमालेले समर्थन गर्ने निर्णय औपचारिक निर्णय गरेको थियो भने काँग्रेसले आवश्यकताअनुसार विश्वासको मत दिने निर्णय गरेको थियो ।

एमालेको केन्द्र सुदूरपश्चिम सरकारलाई समर्थन नगर्ने नीतिमा भएपनि सुदूरपश्चिममा माधव नेपाल पक्षको बाहुल्य भएकाले केन्द्रको निर्णय उलंघन भएको हो ।

एमाले प्रदेश कमिटीले सरकारलाई विश्वासको मत नदिन ह्वीप जारी गर्नका लागि आफ्नो संसदीय दललाई निर्देशन दिएपनि त्यसको अवज्ञा गर्दै विश्वासको मत दिने निर्णय गरेको हो ।

You May Also Like

Leave a Reply

Your email address will not be published. Required fields are marked *