एमाले प्रवेश गरेका पूर्वमाओवादीहरुमा खैलाबैला

काठमाडौँ । पुस ५ गते प्रधानमन्त्री केपी शर्मा ओलीले संसद विघटनको असफल प्रयास गरेसँगै विभाजित भएको तत्कालिन नेकपाभित्रको पूर्व माओवादी धार छोडेर ओलीलाई साथ दिएका माओवादी खेमाका ७ नेताहरुलाई एमालेमा धर्मसंकट परेको छ ।

आफ्ना मागहरु पूरा नहुँदा माओवादी पक्षका नेताहरुको विवाद र संकट छताछुल्ल देखिएको हो । खासगरी जेठ ६ गते सर्वाेच्च अदालतले मन्त्री पद खोसिदिएसँगै निराश बनेका सात नेताहरु दोस्रो पटक संसद विघटन गरेसँगै विस्तार गरिएको मन्त्रिपरिषदमा नपरेपछि असन्तोष देखिएको हो ।

आकर्षक मन्त्रालय र निर्वाचन क्षेत्रको ग्यारेन्टी गर्दै एमाले प्रवेश गरेका उनीहरुलाई प्रधानमन्त्री ओलीले आफूहरुले चाहेजस्तै भाउ दखिएको कारण असन्तोष बढेको हो ।

पूर्वमाओवादी खेमाको नेतृत्व गर्न रामबहादुर थापा (बादल) असफल भएको भन्दै माओवादी खेमाका नेताहरुले भरपर्दाै र विश्वासिलो नेता खोजिरहेका छन् । एमालेका नेताहरुले खासै भाउ नदिने भएको कारण आफ्नो समूहबाट उनीहरुले नेता चुन्न खोजेका छन् । तर बादल भने नेताको विकल्प बन्न नसक्ने उनीहरुको ठहर छ ।

नेता टोपबहादुर रायमाझी आफूहरु बादलको नेतृत्वमा एमालेमा नगएको बताउँनुहुन्छ । उहाँ भन्नुहुन्छ, ‘हामी एउटै पृष्ठभूमिबाट आयौं । तर, अध्यक्ष ओलीको पक्षमा अगाडिपछाडि गइयो।’ अब एमालेभित्र आफूहरुको पृष्ठभूमिका हिसाबले मात्रै नभइ पार्टी नेताको हिसाबले डिल हुने उहाँको भनाइ छ ।

माओवादीबाट एमालेमा गएका नेताहरु पहिले कहिल्यै पनि बादलको पक्षमा नभएका कारण पनि बादललाई नेता मान्न अप्ठेरो भइरहेको छ ।

माओवादीमा रहँदा टोपबहादुर रायमाझी, मणि थापा र प्रभु साह लामो समयसम्म बाबुराम समूहमा थिए जसले कहिल्यै बादललाई नेता मान्न सक्नुभएन । लेखराज भट्ट लामो समय प्रचण्ड नजिक हुनुभयो जसले माओवादीभित्रैका थुप्रै उतारचढावमा कहिल्यै बादललाई साथ दिनुभएनँ ।

यो खेमाका एक पूर्वमन्त्री भन्छन्, ‘बादल हाम्रा नेता कहिल्यै थिएनन, हामी उनको पछि लागेर एमालेमा आएको पनि होइन, अनि किन बादलमार्फत ओलीसँग डिल गर्ने ?’

कतिपय नेताहरुमा बादललाई नेता नमाने टोपबहादुरलाई नेता मान्नुपर्ने पनि दबाब छ । नेता नेतामा हुनसक्ने गुण टोपबहादुरमा नभएको भन्दै सहमति हुन सकेको छैन ।

नेता मणि थापाका अनुसार बादलले आफ्नै श्रीमतीलाई मन्त्री बनाएको विषयलाई लिएर नेताकार्यकर्ताहरुले असन्तुष्टि पोखेका छन् ।

‘मन्त्रिपरिषद विस्तार गर्दा प्रधानमन्त्रीले आफ्नो अधिकार प्रयोग गर्नुभयो । तर, हाम्रो यता पृष्ठभूमिका कार्यकर्ता पंक्ति चाहिँ खुसी छैनन्, त्यति हो,’ नेता थापाले भन्नुभयो, ‘फोनसोन आउँछ । बादल दाइको मिसेसको कुरा भयो, त्यसमा अलिकति असन्तुष्टि छ । अरु पठाइदिएको भए हुन्थ्यो भन्ने खालको छ ।’

अध्यक्ष ओलीले बादललाई मात्रै काखी च्यापेर अगाडि बढ्न खोजेको कतिपय नेताहरुको गुनासो छ । त्यसो नगर्नका लागि उनीहरुले माओवादी पृष्ठभूमिका नेताहरुको छुट्टै छलफल गर्ने र अध्यक्ष ओलीसँग एक्लाएक्लै डिल गर्ने प्रयासलाई समेत जारी राखेका छन् । एक नेता भन्छन्, ‘अध्यक्ष ओलीले सबैलाई एउटै व्यवहार गर्न सकेनन् । बादललाई रेस्पोन्स गरे, अरुलाई गरेनन् भन्ने हामीलाई परेको छ ।’

नेताहरुका अनुसार मन्त्रिपरिषद विस्तारमा माओवादी पृष्ठभूमिका नेताहरुले ५ वटा मन्त्रालय मागेका थिए । तर माओवादी पृष्ठका २ जना मात्रै नेता पर्नु र त्यसैमाथि बादलपत्नीलाई राख्नुले उनीहरुसामू अन्तोष बढेको हो ।

उनीहरुको असन्तोष बाहिरै तहसम्म आएसँगै माओवादीका कतिपय नेताहरुले भन्ने गरेका छन्- ‘चोक्टा खान गएका पूर्वमाओवादी झोलमा डुबेर मरे!’

You May Also Like

Leave a Reply

Your email address will not be published. Required fields are marked *