९ दिनदेखि हराएकी सुजिता भण्डारी मृत भेटिइन्

चितवन। अपहरणमा परेको भनिएकी चितवन राप्ती नगरपालिका ३ प्रगतीपुर की २२ वर्षीया सुजिता भण्डारी मृत अवस्थामा फेला परेकी छन् ।

घरबाट करिब ४ किमी पर ब्रम्हस्थानी सामुदायिक वनको खोल्सामा उनको शव भेटिएको हो । असार ११ गते बिहान तरकारी किन्न निस्किएकी उनले दिउँसो सवा १२ बजे दिदी कवितालाई फोन गरेर आफू अपहरणमा परेको जानकारी गराएको परिवारले बताउँदै आएको थियो ।

परिवारले अपहरण भएको भन्दै केहिदिन पहिले प्रहरीमा उजुरी पनि गरेका थिए । ३ जनाले अपहरण गरेको आशंका परिवारले गरेको थियो ।

उनी घरबाट निस्किएको केही बेरमै उनको फोन अफ भएको थियो । त्यसपछि केही बेरमा मिस्कल आएपछि कल ब्याक गर्दा आफू अपहरणमा परेको बताएकी थिइन् ।

आइतबार दिउँसो भेटिए पनि परिवारले साँझमात्रै शव सुजाताकै भएको भनेर सनाखत गरेका थिए । जिल्ला प्रहरी कार्यालय चितवनका प्रमुख ओमप्रसाद अधिकारीले सोमबार बिहानमात्रै शव उठाइने बताउनुभयो ।

फरेन्सिक चिकित्सकसहितको विज्ञ टोलीबाट थप अनुसन्धान गरेर मात्रै शव उठाइने छ । शव भेटिएको स्थल शील गरेर राखिएको छ ।

उनको खोजविन गर्न नेपाल प्रहरीको केन्द्रीय अनुसन्धान ब्युरोको टोली खटिएको थियो । सोही टोलीले घटनाको अनुसन्धान गर्नेछ । घटनाबारे प्रहरीले अन्य कुनै सुराकी फेला पारेको सार्वजनिक गरेको छैन ।

स्थानीय रामेश्वर सेन्चुरीका अनुसार राजमार्गबाट साढे तीन किमी पर उनको शव फेला परेको जानकारी दिनुभयो ।

You May Also Like

Leave a Reply

Your email address will not be published. Required fields are marked *