प्रधानमन्त्री ओली र वरिष्ठ नेता नेपालबीच भेटवार्ताको तयारी

काठमाडौं । नेकपा एमालेका अध्यक्ष तथा प्रधानमन्त्री केपी शर्मा ओली र वरिष्ठ नेता माधवकुमार नेपालबीच भेटवार्ताको तयारी भएको छ।

एमालेको विावद समाधान गर्न गठन गरेको कार्यदलले १० बुँदे सहमति गरेपछि त्यसविषयमा छलफल तथा अनुमोदनको निम्ती दुई शीर्ष नेताहरुवीच भेटवार्ताको तयारी भइरहेको नेता सुवास नेम्वाङले बताउनुभयो ।

उहाँका अनुसार भेटवार्ताको निम्ती दुवै पक्षबाट समन्वय भइरहेको छ । तर कति बजे कहाँ भेट्ने भन्नेबारे स्पष्ट भइनसकेको बताउनुभयो ।

उहाँले भन्नुभयो, ‘हामीले तपाईंहरू भेटेर कुरा गर्नुस् भनेका छौं। उहाँहरू कतिबेला भेट गर्नुहुन्छ समय टुंगो भइसकेको छैन’।

साथै कार्यदलबीच सहमति भएका १० बुँदाबारे स्थायी कमिटी बैठक गरी अनुमोदन गर्ने तयारी छ। यता नेपाल समूहमा भने १० बुँदे सहमतिलाई लिएर चरम असन्तोष भएको छ । नेताहरुले उक्त सहमति पालना गर्न नसकिने बताएका छन् । नेता नेपालले कार्यदलबीच भएको सहमतिलाई गलत व्याख्या गरेर अदालतमा विचाराधीन मुद्दा प्रभावित गर्न खोजिएको भन्दै आपत्ति जनाउनुभएको छ ।

एमालेमा पुरानै संरचनाअनुसार पार्टी सञ्चालन गर्नेलगायत सहमतिमा आइतबार कार्यदलका सदस्यहरू पुगेका थिए।
यस्तै एमालेले आइतबारका लागि बोलाएको स्थायी कमिटी बैठक आजसम्मका लागि स्थगित गरेको थियो।

पार्टी कार्यालयका सचिव शेरबहादुर तामाङका अनुसार मंगलबार बस्ने गरी केन्द्रीय कमिटी बैठक पनि बोलाइएको छ।

You May Also Like

Leave a Reply

Your email address will not be published. Required fields are marked *