एक दुई दिनमै दल विभाजनसम्बन्धी अध्यादेश ल्याउने तयारीमा देउवा

अनिश शर्मा गैरे- काठमाडौं । गठबन्धन सरकारले आफ्नो सत्ता टिकाउनको निम्ती दल विभाजन सम्बन्धी अध्यादेश ल्याउने तयारी गरेको छ ।

सोमबार हठात संसद अधिवेशन अन्त्य गरेको सरकारले त्यसको निम्ती तयारी गरेको बताइएको छ । गठबन्धनमा रहेका काँग्रेस, माओवादी, जसपा र एमालेको माधव कुमार नेपाल समूहसँग सल्लाह नै गरेर प्रधानमन्त्री शेर बहादुर देउवाले राष्ट्रपति विद्यादेवी भण्डारी सामू उक्त अध्यादेशको निम्ती सिफारिस गर्ने बताइएको छ ।

लामो समयसम्म सरकारले पूर्णता पाउन नसकेको कारण माधव कुमार नेपाल समूहलाई सहज गराउने, उनीहरुलाई सरकारमा ल्याउने र आफ्नो सरकारमा बहुमत पुर्याउने गरी दल विभाजनको अध्यादेश ल्याउने तयारी सरकारले गरेको हो ।

सोमबार सभामुख अग्नि सापकोटाले संसद अधिवेशन अन्त्य भएको घोषणा गर्दा बैठकमा उपस्थित सांसदहरु छक्क परेका थिए । एमाले सांसदहरुले पहिले देखि नै दलविभाजनको अध्यादेश ल्याएर एमाले फुटाउने षडयन्त्र हुन सक्ने आशंकाको वीच सरकार त्यसतर्फ लागेको हो ।

यता एमाले अध्यक्ष केपी शर्मा ओलीले सरकारले संसद अधिवेशन अन्त्य गरी दल फुटाउने अध्यादेश ल्याउन लागेको भन्दै त्यसको विरोध गर्दै एमाले एकताको आह्वान गरेका छन् । मध्यरातमा एक विज्ञप्ती जारी गर्दै उनले भनेका छन्, ‘पूर्व घोषित प्रतिबद्धता विपरीत प्रतिनिधिसभाको चालु अधिवेशन हठात् अन्त्य गरेर राजनीतिक दल विभाजन सम्बन्धी अध्यादेश ल्याउने र नेकपा एमालेलाई विभाजित गर्ने षडयन्त्र गरिँदैछ, नेकपा एमाले र यस पार्टीको संसदीय दलमा विभाजन गर्ने कुनै पनि बहाना वा षडयन्त्र पार्टीका लागि मान्य र क्षम्य हुन सक्तैन ।

तसर्थ, पार्टीका सम्पूर्ण नेता, कार्यकर्ता र प्रतिनिधिसभा तथा राष्ट्रियसभाका माननीय सदस्यहरूलाई पार्टी वा संसदीय दल विभाजनका प्रयासहरू विरुद्ध दृढताका साथ उभिन हार्दिक अपिल गर्दछु ।’

उनले यसै विषयमा छलफल गर्न आज एमालेको स्थायी कमिटि र संसदीय दलको बैठक बोलाएका छन् । उक्त बैठकमा यस विषयमा छलफल गरिने र पार्टी फुटाउने अभियानमा लागेको भन्दै एमालेको माधव कुमार नेपाल पक्षका नेताहरुलाई कारवाही गर्न सक्ने सम्भावना समेत रहेको एक नेताले बताए ।

ओली पक्षका एक नेताले भने, ‘कमरेड ओलीले आज कुनै एजेन्डाहरुको बारेमा थाहै नदिई अकस्मात बैठक बोलाउनुभएको छ, सम्भवत् पार्टी फुटाउन खोज्ने नेताहरुको कारवाहीको संकेत देखिएको छ, हामीले त्यो निर्णय हठात रुपमा नलिन आग्रह गर्नेछौँ ।’

स्रोतका अनुसार आजै कारवाहीको सिफारिस गर्ने, केन्द्रीय समितिबाट अनुमोदन गर्ने र निर्वाचन आयोगलाई जानकारी गराउने तयारी ओलीको छ ।

कहिले आउँदैछ अध्यादेश ?

सरकारले पूर्णता नपाएको भनेर प्रधानमन्त्री देउवा निकै आलोचनाको पात्र बनेका छन् । एमालेको माधव कुमार नेपाल समूहलाई सरकारमा ल्याएर बहुमत सिद्ध गर्ने तयारीमा प्रधानमन्त्री छन् । त्यसै कारण ५ हप्तादेखि सरकारलाई पूर्णता दिन नसकेका देउवाले हाल दल विभाजन गर्न चाहिने प्रावधानलाई ४० प्रतिशतबाट हटाएर २५ प्रतिशतमा झार्ने तयारी गरेका छन् ।

हाल कानून अनुसार केन्द्रीय समिति र संसदीय समितिमा ४० प्रतिशत भएमात्र दल विभाजन गर्न पाइन्छ । अन्यथा नेताहरुको पद खोसिने व्यवस्था छ । यस अवस्थामा त्यो प्रावधानलाई परिमार्जन गर्दै २५ प्रतिशतमा झारिने गरि अस्थायी कानून ल्याइने तयारी रहेको वालुवाटार स्रोतको भनाई छ ।

अध्यादेशमा २५ वा ३० प्रतिशत सांसद वा केन्द्रीय सदस्यले चाहे दल विभाजन गर्न सक्ने प्रारम्भिक प्रस्ताव माथि छलफल भइरहेको तर सहमति भने जुट्न बाँकी रहेको बताइएको छ ।

सम्भवत् एक दुई दिन भित्रै अध्यादेश ल्याउने र सरकारको काम नियमित लैजाने तयारीमा गठबन्धन लागेको छ ।

यसअघिका प्रधानमन्त्री केपी शर्मा ओलीले संसद छलेर अध्यादेश मार्फत शासन गर्ने भनेर आलोचना गरेको अहिले गठबन्धन पनि ओलीकै पथमा हिड्न लागेको भन्दै तिव्र आलोचना भइरहेको छ ।

You May Also Like

Leave a Reply

Your email address will not be published. Required fields are marked *