१४ सांसदलाई छिटाे पदमुक्त गर्न सभामुखलाई एमालेकाे दबाब

काठमाडौँ । नेकपा एमालेले पार्टीले कारबाही गरेका १४ जना सांसदहरुलाई छिटो पदमुक्त गर्न सभामुख अग्नि सापकोटाको ध्यानाकर्षण गराएको छ।

बिहीबार सभामुखको कार्यकक्षमै पुगेर एमाले संसदीय दलका प्रमुख सचेतक विशाल भट्टराई तथा सचेतक शान्ता चौधरीसहितका सांसदहरुले पार्टीले कारबाही गरेका माधवकुमार नेपालसहितका १४ सांसदलाई छिटो पदमुक्त गर्न दबाब दिएका हुन्।

एमालेले माधवकुमार नेपाल, रामकुमारी झाँक्री, मेटमणि चौधरी लगायतलाई सांसद पदबाट हटाउने निर्णय गरि सोही व्यहोराको पत्र संसद सचिवालयमा दर्ता गरेको थियो।

यसरी संसद सचिवालयमा कारबाही गरिएको व्यहोराको पत्र दर्ता भएको १५ दिनभित्र संसद चलेको भए सदनमा सभामुखले जानकारी गराउने नभए सूचना टाँस गरेर जानकारी गराउने स‌ंसदीय परम्परा छ।

तर एमाले सांसदहरुले भने ढिलो गर्न नहुने भन्दै सभामुखलाई दबाब बढाएका हुन्।

सभामुखको ध्यानाकर्षण गराउन प्रमुख सचेतक भट्टराई, सचेतक शान्ता चौधरीसहित सांसदहरु कृष्णभक्त पोखरेल, खगराज अधिकारी, महेश बस्नेत, निरु पाल गरि १४ सांसद पुगेका थिए।

सभामुखको ध्यानार्षण गराएपछि पत्रकारहरुलाई प्रतिक्रिया दिँदै प्रमुख सचेतक भट्टराईले यसअघि यसरी नै गरिएको कारबाहीमा सभामुखले तुरुन्तै सूचना जारी गरेकोले अहिले ढिलो गरेर चलखेल गर्न नहुने बताए- ज्योतिन्यूज

You May Also Like

Leave a Reply

Your email address will not be published. Required fields are marked *