समस्यै समस्याको केन्द्रविन्दू वामीः कहिलेसम्म भोग्नुपर्ने हो यो नियती ?

विवेक काफ्ले, गुल्मी । गुल्मीको मुसिकोट नगरपालिकाको केन्द्र वामीटक्सार यतिबेला थुप्रै समस्याहरुको अखडा बन्दै गैरहेको छ ।

संघीयताको कार्यान्वयन र प्रयास संगै देशका अधिकासं स्थानीय सरकारहरुले विकासका लहरहरु ल्याएसंगै जनतामा बिकासको आशा पलाएको थियो । सोहि अनुरुप वामीमा पनि थुप्रै सपनाहरु बाँडिएका थिए तर सबै काल्पनिकतामा मात्रै सिमित भएको छ ।

मुसिकोट नगरपालिकाको केन्द्र वामी गत निर्वाचन ताका विभिन्न दलका उम्मेदवारका घोषणापत्रमा उल्लेख गरीए अनुसार यतिबेला नमुना संगै

समृद्धशाली तथा देशकै उत्कृष्ट ग्रामिण बजार बनिसक्नु पर्ने हो, तर आजको वामी एउटा अनकन्टार गुफा जस्तै भएको छ । केन्द्रको विकास देखेर अरु बजारमा सिको गर्नुपर्ने अवस्थामा वामीटक्सार आफैं दर्जनौ दीर्घरोगहरुले थला परेको छ ।

जहाँ पसेपछि मोबाइलमा नेटवर्क आउदैन,यस्तो लाग्छ वामी प्रवेश गरेपछि जो कोहि हराउन सक्छ, जहाँ धारो खोल्दा पिउन लायक सफा पानि आउदैन, जहाँ विद्युत प्रसारण एउटा दीर्घ रोग बनेको छ,जहाँ सडकमा उड्ने धुलोको मुस्लोले आकाश ढाकिरहेको हुन्छ, जहाँ स्वास्थ्यका सामान्य समस्याकै कारण उपचारको अभावमा नागरिकले ज्यान गुमाउनुपर्छ । यस्ता थुप्रै समस्याका कारण आज वामीको उचाई घटिरहेको छ ।

एक दशक अगाडी देखि संचालनमा आएको वामीको लघुजलविद्युत प्रसारणमा बिगत ५ वर्षदेखि जटिल समस्या देखिन थालेपछि वामीमा केहि महिना अघि केन्द्रीय प्रसारणको लाइन जडान गरियो, तर एक घण्टा भित्रै करिब १० देखि १५ पटकसम्म जाने आउने गर्ने केन्द्रीय प्रसारण लाइनले जनताहरु आजित भैसकेका छन् ।

विशेषगरि विद्युतको समस्याले ठुला तथा साना उद्धमी, व्यावसायीहरु मर्कामा परेका छन् ।

मुख्यत– यतिबेला विद्युतकै समस्याका कारण वामीमा नेपाल टेलिकमको सेवा अवरुद्ध भएको छ । गुल्मीकै दोस्रो ठूलो क्षमता भएको इस्मालिथान स्थित नेपाल टेलिकमको टावरमा विद्युत नहुदा वामी आसपासका जनताहरु सम्पर्कविहीन बनेका छन् । करिब २ महिना देखि नेपाल टेलिकमको सेवामा अवरोध आइरहदा पनि स्थानीय सरकार र नेपाल दूरसञ्चार तथा नेपाल टेलिकम गुमनाम बसिरहेका छन् । स्थानीय विद्युतले संचालन हुदै आइरहेको उक्त टावर, सेवाहिन बनेको छ ।

इस्मालिथान टावरमा केन्द्रीय विद्युत जडान हुन सके सेवा सुचारु हुने नेपाल टेलिकम गुल्मीका प्रबन्धक रुकमागत सापकोटाले गुल्मीप्रेसलाइ जानकारी दिनुभयो । केन्द्रीय विद्युत जडानमा किन ढिलाई गर्नुभएको ? भन्ने प्रश्नमा प्रबन्धक सापकोटाले टावरमा दुईवटा योजनाको विद्युत जडान गर्ने अधिकार जिल्ला मातहतमा नहुदा, केन्द्रीय विद्दुत जडानमा समस्या देखिएको छ, प्रदेश र केन्द्रको स्वीकृति बिना केन्द्रीय लाइन जोड्न नसकिने हुदा,नेपाल टेलिकमको प्रदेश मातहतमा पत्राचार गरिसकिएको र आवश्यक प्रक्रिया अगाडी बढाइएको बताउनुहुन्छ ।

सडकको हालतपनि उस्तै

तीन तीन पटक म्याद थपिएको वामी – भुवाचिदी सडक खण्ड कालोपत्रेको काम फेरी अलपत्र परेको छ । असोज मसान्त भित्रै सम्पन्न गरिसक्नुपर्ने योजनाले अहिलेसम्म गति लिन सकेको छैन । सडकमा उड्ने धुलोले यात्रु तथा स्थानीय बासीहरु हैरान भएका छन् । गत बैशाखमा दुइ पटक सम्म ग्रेडिंग गरिसकिएको सडक अहिले क्षतबिक्षत भैसकेको छ ।

पछिल्लो समयावधिमा पनि काम सम्पन्न नभए निर्माण कम्पनीलाई ठाडो बहिष्कार संगै जनकारवाही गर्ने स्थानीय बासिन्दाहरु बताउछन । तर ठेकेदार कम्पनी र त्यसका कारिन्दाहरु यस्तो गर्मीको मौसममा पनि काम गर्न छोडेर ब्लाङ्केट ओढेर सुतेका छन् । अब तीन तहका सरकारहरु, नेता, सरकारी कर्मचारीहरुको को त के कुरा गर्नु ? उनीहरुलाई त्यही ब्लाङ्केट भन्दा बाक्लो सिरक ओढेर सुत्दा पनि अझै निद्रा पुगेको छैन । घुरेरै सुतिरहेका छन् । कानै अघि आएर बाजा बजाउँदा पनि उनीहरु ब्यूँझने चाला देखिएको छैन ।

अब खानेपानीको कुरा

एक घर एक धारा अन्तर्गत वामी बजारमा सञ्चालनमा आएको खानेपानी योजनाले बजारका स्थानीय बासी संगै व्यबसायीहरुलाई वाक्क बनाएको छ । लगातार पनि आउँदैन, आइहाले पनि धारो खोल्दा माटो मिसिएको धमिलो पानि झर्छ,पिउने कि सिंचाई गर्ने ? बिरक्त मान्दै एक स्थानीय व्यासायी बताउनुहुन्छ ।

मुसिकोट नगरपालिकाले सफा स्वच्छ र स्वस्थ पानी दिने भन्दै हरेक नागरिकहरुबाट १० हजार रुपैया ‘ठटाएर’ लियो र त्यसमा नगरपालिका र जनताको संयुक्त साझेदारी भनेर धारा जोड्ने कामसम्म गर्यो । तर अहिले यसप्रकारको हालत देख्दा जनतालाई लागेको छ,– बरु यो एक घर एक धाराको ‘टन्टो’ नआउँदासम्म आशा थिएन, जनजीविका चलेकै थियो । सफा नोट बुझाएर फोहोर पानि पिउनु पर्दा पिडा भैरहेको वामीबासीहरु बताउँछन् ।

बिगतमा भएका अवैज्ञानिक प्रयासका कारण अहिले योजनामा बारम्बार सामस्या देखा परेको उक्त खानेपानी योजनाका सचिब सुन्दर प्रधानले बताउनुभयो । लगत्तै सुद्दिकरणका लागी पूर्वयोजना अनुरुप नया प्लान संचालनमा ल्याइने पनि उहाले बताउनुभएको छ ।

मुलत् वामीमा स्तरीय स्वास्थ्य सेवाको अभाव लामो समयदेखि रहिरहेको छ । स्थानीय अगुवाहरुको जोडबलमा पाल्पा प्रवासको शाखा लुम्बिनी वामी हस्पिटल प्रालिको नाममा वामीमा बिस्तार भएता पनि जनताहरु सामान्य उपचारका लागि बुटवल, काठमाडौं धाउनुपर्ने बाध्यता भने कायमै रहेको छ । प्रवासको शाखा वामीमै आउने भएपछी त् सबै पाल्पाकै सेवा सुबिधा पाइने आशामा स्थानीयमा खुसि छाएको थियो तर दक्ष जनशक्ति र स्रोत साधनको अभावमा प्रवास शाखा पनि सामान्य मेडिकलकै रुपमा रुपान्तरित भएको सेवाग्राही हरुले महसुस गरेका छन् ।

अब सरकारी स्वास्थ्य संस्थाको त के कुरा गरौं, केही समयको निम्ती एमबीबिएस डाक्टर ल्याएर जनतालाई मख्ख बनाइयो । तर ति डाक्टरले पनि ‘उपचार कम’, ‘जाँडपान’ ज्यादा गर्ने रहेछन् । एक महिना नहुँदा भाग्नुपर्यो । त्यसपछि डाक्टरको कुरा सकियो । उही पूरानै शैलीमा स्वास्थ्य संस्थाले सेवा दिइरहेको छ । स्तरवृद्धि नारामै सीमित भएका छन् ।

निकट भविष्यमा वामीमै १५ शैयाको अस्पतालका लागी निर्माण कार्य अघि बढिसकेको सरोकार वालाहरु बताउछन तर वामी भुवाचिदी सडक खण्ड कालोपत्रेको जिम्मा पाएको श्रेष्ठ कन्स्ट्रक्सनले नै उक्त अस्पतालको जिम्मा पाएको हुदा तोकिएकै समयमै निर्माण सम्पन्न नहुनेमा वामीबासीहरु ढुक्क छन् । अब झेँदीको पुलको त के कुरा गरौं । लगातार दुई बर्षसम्म भत्किएको उक्त पुल तरेर वार पार गर्ने जनताको इच्छा सपनामै सीमित हुने त होइन भन्ने चिन्ता देखिएको छ ।

वामीटक्सार पहिले सपनाको बजार थियो । वामी मात्र नभएर अन्य जिल्लाका बासिन्दाहरु समेत यस बजारको नाम सुन्दा गौरवको महसुस गर्ने थिए । बजार विकसित हुने विषयले उनीहरुमा खुशीको सञ्चार हुन्थ्यो । तर अहिले सबै आशा निराशा भएका छन् । खुशी सबै ‘बेफ्वाँकका आशा’ले भरिएका छन् । मानिसहरु भन्न थालेका छन्– वामीटक्सारको विकासको आशा नगरेको भए कम्तीमा निराशामा बाँच्नुपर्ने त थिएन ।

वामीमा व्यापार व्यवसाय बढ्ला भन्ने आशाले मानिसहरुले लाखौं लगानी गरेका छन् । एउटा मोबाइल चार्ज गर्न समेत खर्बाङ या भुवाचिदी जानुपर्ने ठाँउमा करोडसम्म लगानी गरेका व्यावसायीहरु बैंकको किस्ता तिर्न नसकेर कुलेलाम ठोक्नुपर्ने अवस्था आएको छ ।

अहिले व्यापारीको संख्या भन्दा सेवाग्राहीको संख्या कम हुने देखिन थालेको छ । किनकी व्यापार बढ्न, ग्राहक बढ्न सुविधा राम्रो दिन सक्नुपर्छ, सुविधा राम्रो दिनको निम्ती आवश्यक पूर्वाधार राम्रो हुन सक्नुपर्छ । तर वामीमा राम्रो पूर्वाधारको नाममा अहिलेसम्म केही देखिएको छैन ।

धन्न वामीमा पहिल्यै दुईवटा विद्युत बनाएका रैछन् र हालसम्म विद्युत भन्ने कस्तो ‘जिनिस’ रहेछ भनेर जनताले चिन्ने मौका पाएका छन् । होइन भने गुणस्तरीय केन्द्रीय विद्युत ‘आकाशको फल आँखातरी मर’ नै हुने भयो ।

अनि स्थानीय सरकारहरु सामू हाम्रो खबरदारी – करिब पाँच बर्ष अघि तपाईँहरुले चुनावमा मत माग्न जाँदा वामी बजार – शालिमे दह केबलकारसम्मका सपनासहित हजारौं खर्च गरेर छपाइएका घोषणापत्रहरु अझै पनि सुरक्षित छन् । ती घोषणापत्रमा लेखिएका विषयको एक एक जवाफ तपाईँहरुले दिने हिम्मत राख्न सक्नुहुन्छ ?

अब शब्दमा वयान गरेर वामीको समस्या समाधान हुने होइन् । स्थानीय सरकार र जनताहरु आक्रामक रुपमा नलागेसम्म हुँदैन । स्थानीय तहको निर्वाचन मुखैमा आउन लागेको छ । अब जनताले ‘आँखा च्यातेर’ हेर्नुपर्ने अवस्थाको अन्त्य गर्न निर्णायक पहल गर्नुपर्ने जिम्मा जनप्रतिनिधिकै हो । यो – त्यो भनेर वहाना गर्ने काम छोडियोस् ।

पावर जनप्रतिनिधिको हातमा हुन्छ, काम गर्नको निम्ती । होइन भने तीन तहकै सरकारलाई ठेगान लगाउने ‘भिष्मपावर’ जनताको हातमा निहीत छ । त्यो समयले देखाउनेछ । एकैपटक सबै समस्याको समाधान गर्न खोज्नुभन्दा पनि एक एक गरी सबै समस्या निराकरण गर्ने अभियानमा सरकार, कर्मचारी, ठेकेदार देखि जनताहरु हातेमालो गर्न सकून ।

२१ औँ शताब्दिको अवस्थामा समेत सामान्य मोबाइल टावरको इस्यू बनाएर समाचार लेख्नुपर्दा कत्तिपनि खुशी लागेको छैन ।

You May Also Like

Leave a Reply

Your email address will not be published. Required fields are marked *