शंकर पोखरेलविरुद्ध दर्ता भयो उजूरी, कसुर प्रमाणित भए १० बर्ष जेल!

काठमाडौं- पूर्वमुख्यमन्त्री एवम् एमालेका नेता शंकर पोखरेलविरुद्ध अपहरण तथा शरीर बन्धक सम्बन्धी किटानी जाहेरी परेको छ । पोखरेलसहित ४ जनाविरुद्ध सांसद विमला कुमारी खत्रीले किटानी जाहेरी दिएकी छन्।

पोखरेल मुख्यमन्त्री रहँदा सांसद वलीलाई दाङबाट गाडीमा ल्याएर मुख्यमन्त्री निवासमा बन्धक बनाएको भन्दै उनले किटानी जाहेरी दिएकी हुन् । वलीले दिएको जाहेरीमा साउन १५ गतेदेखि ५ दिनसम्म पोखरेल मुख्यमन्त्री रहँदा दाङबाट ल्याएर बन्धक बनाएको आरोप लगाएको छ ।

तत्कालीन मुख्यमन्त्री शंकर पोखरेल, एमाले प्रमुख सचेतक भूमिश्वर ढकाल, पोखरेलको सचिवालयका तिरण गौतम र एमाले दाङका नेता मानबहादुर रावतले अपहरण तथा शरीर बन्धक गराएको भन्दै वलीले जाहेरी दिएकी छन् ।

उनले जाहेरीमा अपहरण तथा शरीर बन्धक सम्बन्धी कानुनअनुसार कारबाहीको गरेकी छन्। उनले चार जनालाई हदैसम्मको कारबाहीको माग गरेकी छन्। रुपन्देही प्रहरी स्रोतका अनुसार अनुसार वलीले किटानी जाहेरीका लागि पत्र बुझाएकि छन् । रुपन्देही प्रहरीले भने दाङ प्रहरीमा जाहेरी दिन आग्रह गरेको बुझिएको छ ।

रुपन्देही प्रहरी प्रवक्ता सत्यनारायण थापाले वलीले बुटवलमा किटानी जाहेरीका लागि पत्र बुझाएको पुष्टि गरे। उनले जाहेरी दाङमा दर्ता गराउन सुझाव दिएको बताए। ‘हामीकहाँ आउनुभएको थियो, हामीले यसलाई दाङमै दर्ता गरेर अघि बढाउँदा उपयुक्त हुन्छ भन्ने सुझाव दिएका हौँ,’ उनले भने।

वली र माओवादी केन्द्रका प्रमुख सचेतक तुलाराम घर्तीले इलाका प्रहरी कार्यालय बुटवलका प्रमुख डीएसपी मदन कुँवरलाई किटानी जाहेरी बुझाएको र उनले घटनाको शुरुवात भएको स्थान दाङमै उजुरी दर्ता गर्ने प्रतिवद्धतासहितको पत्र दिएका छन्।

‘हामीले प्रदेश प्रहरी कार्यालय दाङसँग परामर्श गरी इलाका प्रहरी कार्यालय बुटवलमा दर्ता गर्न गएका थियौँ,’ माओवादी केन्द्रका प्रमुख सचेतक तुलाराम घर्तीले भने, ‘उहाँले घटनाको शुरुवात भएकै स्थानमा दर्ता गरिदिन्छौँ भन्ने प्रतिवद्धतासहितको पत्र हामीलाई दिनुभएको छ।’ दाङ प्रहरीले भने जाहेरी आफूकहाँ आइनपुगेको बताएको छ। दाङ प्रहरी प्रवक्ता सुरेश काफ्लेले दाङमा उजुरी आइनपुगेको बताए।

यदि अपहरण तथा शरीर बन्धकको कसुर ठहर गरेमा पोखरेलसहित ४ जनालाई ७ वर्षदेखि १० वर्षसम्म कैद र सत्तरी हजारदेखि १ लाख रुपैयाँसम्म जरिवाना हुने व्यवस्था छ ।

You May Also Like

Leave a Reply

Your email address will not be published. Required fields are marked *