बिपी रावत, रुकुम पश्चिम प्रगतिशील लोकतान्त्रिक पार्टीका नेता, पूर्वमन्त्री र साबिक माओवादी केन्द्रका उपमहाचिव जनार्दन शर्मा प्रभाकर आफ्नो गृह जिल्ला रुकुम पश्चिम आएका बेला कालो झन्डा देखाएर विरोध भएको छ।
नेपाली कम्युनिष्ट पार्टीका कार्यकर्ताहरूले आज बिहान मुसिकोट नगरपालिका–१ सल्लेमा कालो झन्डा देखाउँदै शर्मा विरुद्ध नाराबाजी गरेका हुन्। काठमाडौंबाट नेपाल एयरलाइन्सको जहाजमार्फत सल्ले विमानस्थलमा आउँदा एर्पोर्टबाहिर उनीविरुद्ध विरोध प्रदर्शन भएको हो।
साबिक माओवादी केन्द्रका अध्यक्ष प्रचण्डको अगुवाईमा नेपाली कम्युनिष्ट पार्टी निर्माण गरी अन्य वाम घटक दलसँग एकता गरेपछि शर्मा प्रगतिशील लोकतान्त्रिक पार्टी गठन गरेर अलग भएका थिए। नयाँ पार्टी गठनपछि पहिलोपटक गृह जिल्ला आए पनि उनले विरोधको सामना गर्नु परेको हो।
नेपाली कम्युनिष्ट पार्टी निकट कार्यकर्ताहरूले कालो झन्डासहित “जनार्दन मुर्दावाद”, “जनतालाई धोका दिने जनार्दन मुर्दावाद”, “नेपाली कम्युनिष्ट पार्टी जिन्दावाद”, “दक्षिणपन्थी अवसरवादी मुर्दावाद” जस्ता नारा लगाएका थिए।
शर्मा गृह जिल्लामा पार्टीको कार्यालय उद्घाटन, युवा भेलालाई सम्बोधन लगायतका कार्यक्रमहरूमा सहभागी भएका थिए।




