रुकुम पश्चिमको सानिभेरी गाउँपालिकामा युवामाथि कुटपिट र अराजकता मच्चाएको आरोप लागेको छ। २०८२/०९/०२ बेलुका सानिभेरी गाउँपालिका स्थित सिम्ली बजार क्षेत्रमा भएको घटनामा राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का पालिका सभापति मदन ओलीको नेतृत्वमा आएको समूह संलग्न रहेको स्थानीयले बताएका छन्।
जानकारी अनुसार राप्ती ज्ञानोदय नमुना माध्यमिक विद्यालयमा कक्षा ९ मा अध्ययनरत विद्यार्थीहरूले विद्यालय समयपछि भलिबल खेल्ने क्रममा सुनचाँदी पसलमा काम गर्ने युवाहरूसँग सामान्य भनाभन भएको थियो। उक्त विषयलाई लिएर सानिभेरी–७ का केही युवा बजार पुगेका थिए। स्थिति तनावग्रस्त हुन नदिन सिम्ली प्रहरी चौकीमा कार्यरत प्रहरी सहायक निरीक्षक (सई) को समन्वयमा बिपी रावत र रोशन रोकायले दुवै पक्षलाई बोलाई मिलापत्र गराएर घर फर्काइसकेका थिए।
तर त्यसपछि वडा नं. ८ बाट रास्वपा पालिका सभापति मदन ओलीको नेतृत्वमा आएको १५–२० जनाको समूहले बजार झरी अराजकता फैलाएको आरोप छ। सानिभेरी–७ का युवाहरू बजारमा आएर झडप गर्न खोजेको आरोप लगाउँदै प्रहरी चौकी नजिकै ग्यारेजमा काम गरिरहेका शान्ति बुढाथोकीमाथि हातपात गरिएको कुटाइ खाने पिडितको भनाइ छ।
घटनापछि सानिभेरी–७ का युवाहरूलाई खबर पुगेको थियो त्यसक्रममा बिपी रावतले मदन ओलीसँग फोनमार्फत घटनाबारे बुझ्न खोज्दा उल्टै ज्यान मार्ने धम्की दिएको आरोप लगाइएको छ। “बिपी भन्ने को हो, काट्छु, मार्छु, जहाँ छस् त्यहीँ आउँछु,” भन्ने धम्की आएको रावतको दाबी छ ।
बजार क्षेत्रमा थप अराजकता हुन सक्ने अवस्था देखिएपछि स्थिति नियन्त्रणमा लिन जिल्ला प्रहरी कार्यालय मुसिकोट तथा इलाका प्रहरी कार्यालय चौरजहारीबाट थप प्रहरी टोली बोलाइएको थियो । सानिभेरी–७ का युवाहरू प्रहरी चौकीमा पुगेपछि मदन ओलीको नेतृत्वमा आएको समूह भने फरार भएको जनाइएको छ।
प्रहरी टोलीले राति करिब १ बजेसम्म सम्बन्धित व्यक्तिहरूको घर–घरमा खोजतलास गर्दा पनि आरोपित युवा फेला नपरेको प्रहरीले जनाएको छ। घटनाबारे थप अनुसन्धान भइरहेको र दोषी देखिए कानुनी कारबाही अघि बढाइने प्रहरीले बताएको छ।




