रुकुम पश्चिम, चौरजहारी नगरपालिकाले आर्थिक वर्ष २०८१/०८२ को लागि नगर कार्यालय तथा अन्तर्गतका कार्यालयहरूमा करारमा कार्यरत केही कर्मचारीलाई हटाउने निर्णय गरेपछि विभिन्न संघसंस्थाले असहमति जनाएका थिए। त्यसको प्रतिक्रिया स्वरूप नगर कार्यपालिकाको कार्यालयले १३ साउन २०८१ मा एक प्रेस विज्ञप्ति जारी गर्दै सुचनाको स्पष्टिकरण दिएको छ।
विज्ञप्तिमा नगर प्रमुख पुष्प वादीले नगरपालिकाको निर्णयलाई नियमानुसार गरिएको उल्लेख गर्दै त्यसमा व्यवस्थापकीय कारण रहेको प्रष्ट पार्नुभएको छ । नेपाल राष्ट्रिय कर्मचारी महासंघ चौरजहारी, अखिल नेपाल ट्रेड युनियन महासंघ चौरजहारी शाखा, नेकपा माओवादी केन्द्र चौरजहारी नगर समिति लगायत अन्य श्रमिक संगठनहरूद्वारा उक्त निर्णयको विरोधमा प्रेस विज्ञप्ति जारी गरी पुनर्वहालीको माग गरिएको थियो। विज्ञप्तिमा जनाइएअनुसार २०७९/०३/२७ को निर्णयअनुसार हटाइएका ७ जना करार कर्मचारीको करार अवधि समाप्त भइसकेको र नयाँ सेवा प्रणाली अनुरूप पुनः व्यवस्था गरिएको छ।

विज्ञप्तिमा नगरपालिकाले पत्रकार, सञ्चारकर्मी, राजनीतिकर्मी तथा आम नागरिकलाई अनावश्यक भ्रममा नपर्न र सत्यतथ्य बुझेर प्रतिक्रिया जनाउन आग्रह गरेको छ। साथै ‘समृद्ध चौरजहारी जनउत्तरदायी सरकार’ को नारा बोकेको नगरपालिकाले कानूनी दायित्व र पारदर्शिताका साथ निर्णय लिएको बताउदै करारमा रहेका कर्मचारीलाई पूर्वाग्रही तरिकाले नहटाइएको र केहि कार्यक्रमहरु सकिएकाले उक्त कार्यक्रमका कर्मचारीहरुको करार नबिकरण नगरिएको हो भनेर नगरप्रमुख पुष्प वादीले उज्यालो नेपाललाई जानकारी दिनु भयो
२०८२/०४/१३




