रुकुम पश्चिमको आठबिसकोट नगरपालिका–१४ मा बिहीबार राति परेको चट्याङले ४ जना घाइते भएका छन्। अविरल वर्षासँगै परेको चट्याङ गोर्खे महताराको घरमा परेपछि २२ वर्षीया छोरी सुनिता महतारा गम्भीर घाइते भएकी छन्। त्यस्तै जनविकास माविका शिक्षक खिमानन्द चन्द, सोही विद्यालयमा अध्ययनरत भवानी मल्ल र निरुता मल्ल सामान्य घाइते भएका जिल्ला प्रहरी कार्यालयले जनाएको छ।
चट्याङका कारण चन्द्रे मल्लको घरमा जडान गरिएको सोलार प्रणाली र बिजुलीका तार जलेका छन्। सोही विद्यालयको शिक्षक निवासमा जडान गरिएको बिजुलीको तार समेत जलेर क्षति पुगेको छ।

यसैबीच, अविरल वर्षासँगै आएको पहिरोले आठबिसकोट नगरपालिका–१३ र १४ का बस्ती प्रभावित भएका छन्। वडा नं. १३ को कालो पहिरोका कारण करिब ३५ घरधुरी उच्च जोखिममा परेका छन् भने वडा नं. १४ मा अतिराम मल्ल, रत्नाकुमारी मल्ल, अबिर मल्ल र गोर्खे महतारासहितका परिवारका घर र अस्थायी टहरा भत्किएका छन्।
Copyright © 2025, All Rights Reserved | Developed By Webbank Nepal Pvt.Ltd




