•  ११ पुष २०८२, शुक्रबार
  • बिपी रावत दाङ, देश अहिले विभिन्न समस्याले थिचिएर जुँगा हालिरहेको अवस्थामा भ्रष्टाचार सबै तह र क्षेत्रमा महामारीझैँ फैलिएको छ। जनताको सेवामा समर्पित हुनुपर्ने सरकारी निकायहरुमा नै भ्रष्टाचार हुनु देशको दुर्भाग्य हो। यसै सन्दर्भमा नेकपा (बहुमत) निकट कम्युनिस्ट युवा सङ्गठन, नेपालले भ्रष्टाचार विरुद्धको कडा कदम चाल्दै राष्ट्रिय आवास कम्पनी पुनर्वासका प्रमुख महेन्द्र थापा विरुद्ध जनकारवाही थालेको छ।

    यस जनकारवाहीको पृष्ठभूमिमा प्रमुख थापाको अनियमितता र भ्रष्टाचारसम्बन्धी गम्भीर उजुरीहरु रहेका छन्। संगठनका अनुसार थापाले पटकपटक सचेत गराइरहँदा समेत सुधार नगरेपछि जनतालाई सेवा गर्न नसक्ने र आफ्नो पदको दुरुपयोग गरेको आरोप लगाइएको छ। प्रमुख थापाको विरुद्ध उठाइएका मुख्य उजुरीहरु यसप्रकार छन्:

    १. नवलपरासी जिल्ला बर्दघाट नगरपालिका चिसापानीस्थित स्थानीय जनताको संरक्षणमा रहेको ‘दमा सेन्टर’को जग्गा नक्कली बोलपत्र सेटिङ गरी कम्पनीको नाममा रहेको जग्गा तिमिल्सना ट्रेडर्ससँग मिलेर गैरकानुनी रूपमा बिक्री गरेको र फिर्ता गर्न अस्वीकार गरेको।

    २. कावासोती नगरपालिका (साविक दाउन्नेदेवी गाविस) स्थित १५ कत्ताको जग्गा संजय क्षेत्रीलाई अवैध रूपमा बिक्री वितरण गरेको।

    ३. अख्तियार दुरुपयोग गरी आफ्नी श्रीमती द्रोणशोभा गाम्छाकी मगरलाई कम्पनीमा शाखा अधिकृत र भाउजू सुनिता मगरलाई करारमा भर्ती गराएको।

    ४. कम्पनीको जग्गा रेकर्ड नबनाई करोडौंको भ्रष्टाचार गरेको र भूमाफियासँग मिलेमतो गरी अदालतमा कमजोर बहस गरेको।

    ५. जग्गाको बोलपत्र निकाल्ने क्रममा माफियासँग मिलेर सरकारी दरभन्दा कम मूल्यांकन गरी चलखेल गरेको।

    ६. वास्तविक जग्गाधनीलाई पुर्जा दिने क्रममा करबाहेक अतिरिक्त घुसका रूपमा करोडौं रकम असुल गरेको।

    कम्युनिस्ट युवा सङ्गठनले यी उजुरी र गुनासोको आधारमा जनकारवाही प्रक्रिया अघि बढाएको र दोषी प्रमाणित भए थप कडा कारबाही गरिने चेतावनी समेत दिएको छ।

    सङ्गठनका महासचिव मिलन थापाले जनतालाई दुःख नदिन र कमजोरी सुधार गर्न पुनः अनुरोध गर्दै बताए, “हामी सबै सरकारी निकायलाई भ्रष्टाचार मुक्त र जनताको सेवा गर्ने उद्देश्यमा अघि बढाउन प्रतिबद्ध छौं। यस्ता कुकृत्यले देशको विकासमा बाधा पुर्‍याउँछन् र हामी यसलाई सहन सक्दैनौं।”

    यस घटनाले पुनः एक पटक भ्रष्टाचार विरुद्ध सङ्घर्षमा सरकार र जनसंघठन कत्तिको गंभीर छन् भन्ने विषयलाई प्रकाशमा ल्याएको छ।

    मिति: २०७८ मंसिर २१
    समाचार स्रोत: कम्युनिस्ट युवा सङ्गठन, नेपाल, ५ नम्बर ब्यूरो