•  ११ पुष २०८२, शुक्रबार
  • बाल्यकालमा बुबाको काँधमा बसेर गाउँका हरियाला डाँडाहरू हेर्दा कति मीठो लाग्थ्यो। खेतबारीमा हरियो धान हल्लिएको देख्दा देशको माटो भन्दा ठूलो केही छैन जस्तो लाग्थ्यो। “पढ, लेख, यही देशमै केही गर” भन्ने बुबाको आवाज अझै कानमा गुन्जिन्छ तर समयको कठोरतालाई को रोक्न सक्छ र जब जिम्मेवारीको भारी काँधमा पर्छ सपना र वास्तविकता बीचको दूरी महसुस हुन्छ।

    देशमै जसो तसो केही गर्छु, केही बन्छु भन्ने विश्वास बोकेर वर्षौं संघर्ष गरियो। बिहान सबेरै उठेर पसिना बगाउँदै खेत जोत्नेदेखि लिएर राजधानीमा पढ्दै कमाउदै गरियो सबै थरी उपाय अपनाइयो तर देशले काम गर्ने ठाउँ दिएन प्रणालीले साथ दिएन अनि भाग्यले पनि मुस्कान दिएन। पढेको केहि काम लाग्ला जस्तो पनि भएन एक दिन बुझियो यहाँ इमान्दारले भन्दा नातावादले सब थोक पाउँछ।

    परिवारका आँखामा अपेक्षा थियो बालबच्चाको भविष्यको चिन्ता थियो जब बच्चाले नयाँ जुत्ता माग्छ अनि आमाले भातमा नुन मात्रै हालेर हाँस्दै खान्छिन् त्यतिबेला मनभित्रको देशमै बस्ने दृढता पनि भत्किन्छ यी र यस्तै ब्यथाहरुले नै मेरो मनमा यो कठोर निर्णय आयो

    परदेशमा सबै कुरा पैसा कमाउने हो भन्ने लाग्छ तर यहाँको प्रत्येक क्षण घर सम्झिँदै बित्दो रहेछ कहिले आमाको सम्झनामा आँसु झर्छ कहिले बुबाको आवाज कानमा बज्छ देशमै केही गर छोरा तर मन सम्झिन्छ देशमा केहि छैन परिवर्तन छैन बेरोजगारी राजनीति र अवसरको अभाव यस्तै यस्तै छ आज विदेशी भूमिमा पसिना बगाउँदै छु अरूको मुलुक उज्यालो बनाउन बसीरहँदा आफ्नै देशको अँध्यारो सम्झेर मन पोल्छ ।
    देशमै जसो तसो बस्ने चाहना थियो तर देशले भनौ या अनगन्ती मनका चाहानाहरु खैर मलाई त बस्नै दिएन।

    देशमा काम गर्न चाहने युवालाई रोजगारी छैन ईमानदारलाई सम्मान छैन आशा बोकेर हिँड्नेहरूलाई बाटो छैन। जब बाँच्नकै लागि विदेशिनु बाध्यता हुन्छ भने देश भन्नु के रहयो र तर अझै पनि मनभित्र एउटा सानो उज्यालो बाँकी छ कुनै दिन फर्कने यो देशलाई आफ्नै हातले उठाउने आमाबुबाको ओठमा गर्वको मुस्कान ल्याउने त्यो आशा नै हो जसले मलाई जीवित राखेको छ किनभने म विदेशिए पनि मेरो मन मेरो माया मेरो मुटुको धड्कन सधै मेरो देशमा धड्किरहेको छ। रहने छ