•  २८ फाल्गुन २०८२, बिहीबार
  • इजरायल र लेबनान युद्धविराम सम्झौताको नजिक रहेका इजरायली र अमेरिकी अधिकारीहरूले बताएका छन् । यसबारे इजरायली मन्त्रिपरिषद्ले आज बैठक बसेर थप छलफल गर्ने छ ।

    इजरायल र इरान समर्थित लेबनानी विद्रोही हिजबुल्लाहबीचको लडाइँ अन्त्य गर्न ६० दिनको युद्धविरामको प्रस्ताव गरिएको बीबीसीले जनाएको छ । युद्धविरामको प्रस्तावमा दक्षिणी लेबनानबाट इजरायली सेना फिर्ता लिने र यस क्षेत्रमा हिजबुल्लाहको उपस्थितिको अन्त्य गर्ने उल्लेख  छ ।

    अमेरिकाको राष्ट्रिय सुरक्षा परिषद्का प्रवक्ता जोन किर्बीले युद्धविराम सम्झौताको नजिक पुगेको तर अझै पूर्ण विश्वस्त भने नरहेको बताउनुभएको छ । लेबनानको दीर्घकालीन सहयोगी मानिएका अमेरिका र फ्रान्सले   युद्धविरामको लागि लामो समयदेखि प्रयास गरिरहेका छन् ।

    युद्धविराम र यसको  अनुगमन गर्न अमेरिकाको अध्यक्षतामा पाँच–देशीय समिति गठन भएको थियो । इजरायलका प्रधानमन्त्री बेन्जामिन नेतान्याहुले सैद्धान्तिक रूपमा सम्झौतामा सहमत भएको खबरमा उल्लेख छ । लेबनानी संसदका उपसभामुख इलियास बो साबले पनि युद्धविराममा कुनै गम्भीर अवरोधहरू नरहेका बताउनुभएको छ  ।

    अस्ति आइतवारको पछिल्लो विवरण अनुसार  लेबनानबाट इजरायलमा झण्डै दुई सय ५० वटा क्षेप्यास्त्र प्रक्षेपण भएका थिए ।  धेरैजसो इजरायलले रोकेको थियो ।

    ११ मंसिर २०८१