अनिवार्य तथा निःशुल्क शिक्षा ऐनले तीन तहबीच शिक्षामा समन्वयको कुरा गरेको मन्त्री भट्टराईले बताइन । ‘स्थानीय सरकार, प्रदेश सरकार र संघीय सरकारबीच समन्वय भयो भने मात्रै शिक्षा सुदृढ हुन्छ । हाम्रो शासकीय स्वरूप र शासकीय तह सबैको उत्तरदायित्वको बारेमा यसले व्याख्या गरेको छ,’ उनले भनिन् ।
अनिवार्य तथा निःशुल्क शिक्षा ऐन लागु गर्न सक्दा नेपालको शिक्षा धेरै सुदृढ हुने मन्त्री भट्टराईको विश्वास छ । उनले भनिन्, ‘अनिवार्य तथा निःशुल्क शिक्षा ऐनका धेरै कुराहरूलाई हामीले लागु गर्यौं भने हाम्रो शिक्षा धेरै व्यवस्थित गर्न सक्छौं ।’
ऐन कार्यान्वयनका साथसाथै शिक्षाको गुणस्तर सुधार्न सरकारले काम गरिरहेको पनि उनले बताइन् । विद्यालय, शिक्षक र विद्यार्थीको अनुपात नमिलेकोले गुणस्तरमा असर परेको विषयमाथि अध्ययन गर्न कार्यदल गठन गरेको पनि उनले जानकारी दिइन् ।
मन्त्रालयले पूर्वसचिव दिपेन्द्रविक्रम थापाको संयोजकत्वमा कार्यदल गठन गरिएको मन्त्री भट्टराईले जानकारी दिइन् । उक्त कार्यदललाई दुई महिनाको समयावधि दिइएको छ । कार्यदलले विद्यार्थी र शिक्षकको अनुपात कसरी मिलाउने भनेर अध्ययन गरेर सरकारलाई प्रतिवेदन बुझाउनेछ ।
मन्त्री भट्टराईका अनुसार यो विषयमा २०७६ सालमा पनि अध्ययन भएको थियो । तर, तत्कालीन परिस्थितिभन्दा अहिले फेरबदल आएको हुनाले फेरि अध्ययन गर्न कार्यदल गठन गरिएको हो ।
कार्यदलले शिक्षकको सन्दर्भमा स्थानीय तहबाट भइरहेका कामहरू समेत हेर्नेछ ।
‘अहिले स्थानीय तहले आफ्नै ढंगका धेरै कामहरू पनि गरिरहेको सन्दर्भमा यसलाई पनि पुनरावलोकन गर्नुपर्छ भनेर हामीले दुई महिनाभित्र प्रतिवेदन दिने गरी पूर्वसचिव दिपेन्द्र विक्रम थापाको संयोजकत्वमा यो कमिटी बनाएका हौं,’ मन्त्री भट्टराईले भनिन् ।
कार्यदलको प्रतिवेदनमा आधारमा तत्काल सम्बोधन गर्नुपर्ने विषय आएको खण्डमा सरकार त्यसमा पनि काम गर्ने मन्त्री भट्टराईले बताइन् ।
‘तत्काल नियमन गर्नुपर्ने विषय रहेछ भने त्यसलाई सरकारले नियमन गरेर अगाडि बढ्नका लागि अध्ययनले सहज हुन्छ,’ मन्त्री भट्टराईले भनिन् ।




