दाङ, ११ माघ । अदालतले पीडितलाई अझै पिडामा पार्नेगरी मुद्दा चलाएको र पिडककै पक्षमा फैसला गर्ने गरेको भन्दै मिटिर ब्याज पीडितले विहीवार घोराहीमा प्रदर्शन गरेका छन् ।
ऋणीलाई जाली तमसुकलाई मान्यता दिन नहुने र पीडित किसान तथा मजदुरलाई न्यायको माग गर्दै पीडितले घोराही बजारमा प्रदर्शनसँगै जिल्ला अदालतको अघि विरोध प्रदर्शन गरेका हुन । मिटर ब्याजका नाममा गरिवलाई चर्को ब्याजको मारमा पार्ने र उल्टै पीडितलाई जाली तमसुक र खाली चेकबाट मुद्दा चलाएर आतंकित पारेको भन्दै पीडितले सडकमा आउनु परेको बताएका थिए ।
लुम्बिनी प्रदेशका विभिन्न जिल्लाबबाट दाङको घोराहीमा भेला भएका मिटर व्याज पीडितहरुले नारा जुलुशसहित घोराही बजार परिक्रमा गरेर जिल्ला अदालतमा पुगेर ज्ञापनपत्र पेस गरेका थिए ।
ऋणीलाई जाली तमसुक र खाली चेकबाट बिभिन्न मुद्दा दर्ता गरी दुख दिने काम गरेको र अदालतले पनि ऋणीबिरूद्ध नै फैसला गरिरहेकाले अदालत घेराउ कार्यक्रम गरेको मिटरब्याज पीडित किसान मजदुर संघर्ष समितिका केन्द्रीय प्रवक्ता निर्घ नविनले बताएका थिए ।
ज्ञापनपत्र बुझ्दै जिल्ला अदालतका स्रेस्तेदार दामोदर घिमिरेले अदालतले न्यायका सिद्धान्त अनुसार काम गरिरहेको र कहिंकतै समस्या भए सुधार गर्दै जाने बताए । विरोध कार्यक्रममा मिटर व्याज पीडित किसान मजदुर संघर्ष समिति दाङका अध्इक्ष ध्रुब शेर्पाइलीको अध्यक्षतामा भएको थियो ।




