रुकुम पश्चिमको सानीभेरी गाउँपालिका -८ तल्लो आमडाँडा निवासी २१ वर्षीया जमुना रसाईली घर नजिकै मृत अवस्थामा फेला परेको प्रहरीले जनाएको छ ।
जिल्ला प्रहरी कार्यालयका अनुसार आज बिहान आफ्नो घर देखि नजिकैको स्याला भन्ने जङ्गलमा जमुना झुण्डिएको अवस्थामा मृत फेला परेकी हुन् ।
जानकारी अनुसार जमुना अनलाइन गिफ्टको नाममा हुने ठगीमा पर्नु भएको थियो । केही दिन अघि उहाँलाई ८ लाख गिफ्ट परेको म्यासेज गरेर उहाँसँग रकम बार्गेनिङ गरेको र सोही क्रममा जमुनाले ३ लाख रुपैयाँ जम्मा गरिदिएको परिवारजनले बताएका छन् ।
जमुनाले १ दिन अघि आफूसँग भएको रकम, गरगहना बेचेर करिब ३ लाख रकम अपरिचित व्यक्तिको बैंकिङ खातामा हालिदिएको बताईएको छ ।
त्यसपछि जमुनालाई ब्लक गरेको र उक्त कुरा परिवारले थाह पाएपछि जमुना बिहीबार दिउँसोबाट सम्पर्कविहीन भएको स्थानीयले बताएका छन् ।
अनलाइन ह्याकरले ३ लाख जम्मा गरेपछि मात्रै आठ लाख बराबरको गिफ्ट पठाउन मिल्ने प्रलोभन दिएको बुझिएको छ ।
जमुनाका श्रीमान रोजगारीको लागि भारतमा रहनु भएको बताइएको छ । उहाँको घरमा एक छोरा, सासु, ससुरा र देवर हुनुहुन्छ । अहिले घटनास्थलमा प्रहरी चौकी सिम्लीबाट प्रहरी टोली पुगेको छ ।
२५, माघ २०८१




