सानिभेरी गाउँपालिका-१० को सार्कीमारे र घण्ठानाको बीचको जंगलमा हिजो साँझ ४ बजेबाट आगलागी सुरु भएको छ। स्थानीयबासी र प्रहरी टोलीको सक्रियतामा आगो नियन्त्रणमा लिने प्रयास भए पनि रातिदेखि पुनः फैलिएको छ, जसले थप जोखिम बढाएको छ।
घटनाबारे जानकारी दिँदै स्थानीय किरण खड्काले आगलागी नियन्त्रणमा कठिनाइ भइरहेको बताउनुभयो। उहाँका अनुसार, प्रारम्भिक रूपमा आगो नियन्त्रणमा आएको जस्तो देखिए पनि हावाहुरीका कारण रातिदेखि पुनः फैलिन थालेको छ। स्थानीयबासी र प्रहरी टोली निरन्तर खटिए पनि आगलागी अझै पूर्ण रूपमा नियन्त्रणमा आउन सकेको छैन।
सानिभेरी क्षेत्रमा यस्ता आगलागीका घटना पटक-पटक दोहोरिने गरेका छन्। तर, आगलागी नियन्त्रण तथा यसको रोकथाममा सम्बन्धित निकायले आवश्यक चासो नदेखाएको स्थानीयहरूको गुनासो छ। आगलागीको कारण पत्ता लगाई दोषीलाई कानुनी कारबाही गर्न सकिने भए पनि जिम्मेवार निकाय मौन रहेको स्थानीयबासी बताउछन्।
स्थानीयबासीले बारम्बार भइरहने आगलागीको घटनालाई गम्भीर रूपमा लिएर रोकथामका प्रभावकारी उपाय अपनाउन माग गरेका छन्। आगलागीबाट वन जंगल पूर्ण रुपमा क्षति भएको छ ।
रुकुम (पश्चिम)
संवाददाता : बिनोद खड्का
२६ माघ २०८१




