•  २६ फाल्गुन २०८२, मंगलवार
  • देश रित्तियो भनेर हल्ला गर्छन् सार्वजनिक यातायातमा यात्रा गर्दा सधैं उभिनुपर्छ । बाइक लिएर निस्कियो लेन बदल्नै गाह्रो छ । जुन दलको जुलुस लिकाले पनि भीड उस्तै देखिन्छ । देशमा पैसा छैन भन्छन् – बैंकमा लाइन बस्नुपर्छ , देश स्वस्थ छ भन्छन्

    एउटा पत्थरियाको अप्रेसन गर्न ८ महिनापछिको डेट लिनुपर्छ । महङ्गी आकाशियो भन्छन् काठमाडौँमा १० रुपैयाँ मुठो साग पाइन्छ, सयमा ३ जोर मोजा पाइन्छ, हजार रुपैयाँ तिरे ३ बर्षको जाडो कटाउने ज्याकेट  स्वेटर पाइन्छ । सस्तो छ भनौँ एक भुँडी भात खाको ४ सय पर्छ । देश गरिब छ भनौं यही देशका टिकटकर ७५ लाखका गाडीमा हिँड्छन् , गायक हेलिकप्टरमा महोत्सव जान्छन् , नेता एलन मस्कको लाइफ स्टायलमा हिँड्छन् ।

    देश धनी छ भनौँ प्रत्येक नेपालीका थाप्लामा ९१ हजार ७ सय ५६ रुपैयाँ राष्ट्रिय ॠण छ । हरेक घरमा १/२ लाख रुपैयाँ साहू , बैंक , बित्तिय संस्थाहरूको ॠण छ । यही ॠणका पिरले तनाव मेटाउन जाँड खाएको व्यक्तिगत ॠण छ । यहाँका जनता खुशी छन् भनौँ हरेक पसलका ब्यापारीहरू पुर्पुरोमा हात राखेर बसेको देखिन्छ, बाटामा हिँड्ने युवाहरू सबै डिप्रेसनपीडित जस्ता देखिन्छन् । दु:खी छन् भनौं देश जहिले दक्षिण एशियाको खुशी राष्ट्रमा पर्छ । देश बस्नलायक छ भनौँ बाँच्नका लागि पैसा चाहिन्छ,

    सामान्य जीवन धान्नका लागि पनि पैसा कमाउने उपयुक्त  प्रसस्त स्रोत छैनन् । धेरै मान्छेहरू रहरले भन्दा पनि बाध्यताले बाँचेजस्ता देखिन्छन् । देश बस्नलायक छैनन् भनौँ – बिदेश पनि भोगियो, थुप्रै देशका मान्छेसँग संगत गरियो यस्ता देशहरू पनि छन् जहाँ एकजनाले एकदिन कमाएन भने परिवार हप्तादिन शंकटमा पर्छ,

    कुनै देशमा एक टुक्रा जमिन पनि नभएका र भए पनि पानीमात्र भएका उब्जनी नहुने, कुनै देश अर्कै महादेशबाट माटो किनेर ल्याएर तरकारी रोप्नुपर्ने, कुनै देश गर्मीमा एसी बिना बाँच्न नसकिने जाडोमा हिटर तथा प्रसस्त कपडा नभए बाँच्न नसकिने पनि छन् । कम्तीमा हाम्रामा त एक हप्ता काम गर्न नसके ऐंचोपैंचो चल्ने समाज छ

    भातै खानका लागि अलिक बाहिर गएर कसैका सस्ता जग्गा भाडामा लिएर धान साग लगाएर खान सकिन्छ शहरमा पनि । केही नलागे गाउँमा आफ्नो नहुनेले पनि पहाड गाउँतिर गएर अरुले छोडेका बाँझा खेतबारीमा अन्नबाली लगाएर कुखुरा बाख्रा पालेर बाँच्न सकिन्छ । थुप्रै देशहरू भन्दा प्राकृतिकरूपमा धनी र सुन्दर छ । एसीबिना पनि गर्मी कटाउन सकिन्छ,

    हिटर बिना पनि जाडो कटाउन सकिन्छ । एक हिसाबले हामीले मरेपछि पुग्न रहर गरेको स्वर्ग यस्तै हो जहाँ हामी जन्मिन पाएका छौँ ।

    अनि भएको चाहिँ के हो ? नमिलेको के हो ? यो देशमा टिक्न अप्ठ्यारो चाहिँ किन भइराछ त ? – खै के हो के हो ! देश हाँक्नेहरूलाई सोधौँ । श्री पशुपतिनाथलाई सोधौँ

    लेख कार्की

    ६ चैत्र २०८१