रुकुम (पश्चिम) कुनै पनि विद्यालय वरिपरि स्वच्छ वातावरण आवश्यक हुन्छ तर आठविसकोट नगरपालिकाले विद्यालय नजिकै डम्पिङ साइट बनाएर फोहोर जलाउँदा विद्यार्थीहरूको स्वास्थ्यमा गम्भीर असर परेको छ। विषाक्त धुवाँ दुर्गन्ध र हानिकारक ग्यासका कारण विद्यार्थीहरूले कक्षा कोठाभित्र पनि सहज रूपमा अध्ययन गर्न सकेका छैनन् आठविसकोट नगरपालिका वडा नम्बर ९ स्थित सहिद स्मृति दीपज्योति नमुना विद्यालय नजिकै डम्पिङ साइट बनाइएपछि विद्यार्थीहरू प्रभावित भएका छन्।\
नगरपालिकाले फोहोर जलाउँदा निस्कने धुवाँ र गन्धका कारण कक्षामा ध्यान दिन कठिन भएको नगरपालिका स्तरीय बाल सञ्जालका अध्यक्ष रिजन शर्मा बताउनुहुन्छ। नगरपालिकासँग पटक–पटक गुनासो गर्दा पनि समस्या समाधान नभएको अध्यक्ष शर्माको गुनासो छ। हामीले धेरैपटक गुनासो गर्यौं एक महिना पहिले ध्यानाकर्षण पत्र पनि बुझाएका थियौं तर अहिलेसम्म कुनै ठोस कदम चालिएको छैन उहाँले भन्नुभयो समस्या तत्काल समाधान नभए विद्यार्थीहरूको पढाइमा गम्भीर असर पर्ने उहाँको भनाइ छ। विद्यालय वरिपरि यस्तो डम्पिङ साइट हुनु नगरपालिकाको गम्भीर लापरवाही हो।
विद्यार्थीहरूको स्वास्थ्य तथा शिक्षामा प्रतिकूल असर पार्ने कुनै पनि गतिविधि अस्वीकार्य छ। नगरपालिकाले विद्यालय छेउमा फोहोर जलाउने काम तुरुन्त रोक्नुपर्छ अध्यक्ष शर्माले भन्नुभयो। आठविसकोट नगरपालिकाले करिब १३ सय वर्गमिटर क्षेत्रफलमा ५ वर्षअघि डम्पिङ साइट निर्माण गरेको थियो। उक्त साइडका कारण विद्यालय मात्र होइन, बजार क्षेत्रमा समेत दुर्गन्ध फैलिएको छ। बजारमा हिँड्दा नाक थुनेर हिँड्नुपर्ने अवस्था छ।
१५ चैत्र २०८१




