•  २४ फाल्गुन २०८२, आईतवार
  • रुकुम पश्चिममा हालै सम्पन्न भएको भलिबल प्रतियोगिता विवादमा तानिएको छ। प्रतियोगिता सम्पन्न भइसके पनि खेल मैदान र वरपरको क्षेत्र अझै फोहोरमै थुप्रिएको छ। सरसफाइप्रति पूर्ण बेवास्ता गरिएको देखिँदा स्थानीय बासिन्दा आक्रोशित भएका छन्।

    प्रतियोगिताको क्रममा प्रयोग गरिएका प्लास्टिकका गिलास, खानेकुराका खोल, ब्यानरका टुक्रा, र अन्य फोहोरहरू मैदानमै छोडिएको छ। आयोजकले प्रतियोगिता सम्पन्न भएसँगै मैदान खाली गरे पनि सरसफाइका लागि कुनै जिम्मेवारी नलिएको स्थानीयले गुनासो गरेका छन्। “खेल त सकियो, तर फोहोरको थुप्रो हाम्रो टाउकोमा रह्यो,” एक स्थानीय बासिन्दाले भने।

    त्यस्तै, टिकटको दरसमेत विवादको विषय बनिरहेको छ। सुरुवातमा रु. २०० को टिकट भनिए पनि दिनदिनै दर बढाएर अन्ततः रु. ३०० सम्म पुर्‍याइएको थियो। यो निर्णयबारे कुनै जानकारी नगरिएको भन्दै दर्शकहरू ठगिएको महसुस गरिरहेका छन्। “हामी खेल हेर्न गएका थियौं, तर टिकट दर हरेक दिन बढाइयो, यो सरासर ठगी हो,” एक दर्शकले गुनासो गरे। स्थानियहरू अब आगामी दिनमा हुने यस्ता सार्वजनिक कार्यक्रममा सरसफाइ, पारदर्शिता र जनउत्तरदायित्व सुनिश्चित गरिनुपर्ने माग गरिरहेका छन्।

    यसरी सधैंजसो जनतालाई लुट्ने प्रवृत्ति दोहोरिएपछि स्थानीय जनप्रतिनिधि र आयोजकमाथि सामाजिक सञ्जालमा व्यापक आक्रोश देखिएको छ। आलोचकहरूका अनुसार केही पत्रकार संगठन र पत्रकारहरू जनताका विषयमा मौन बस्नु थप आश्चर्यको विषय भएको छ।

    यसबीच नेपाल पत्रकार महासंघ रुकुमपश्चिम र अन्य पत्रकारहरूको मौनता प्रश्नवाचक बनेको छ। यस्तो अवस्थामा अनलाइन मिडिया पनि चुपचाप रहनुले “कहाँ लुकेका छन् पत्रकारहरू?” भन्ने प्रश्न थप चर्किएको छ।
    ०८, असार २०८२