•  २७ पुष २०८२, आईतवार
  • रुकुम पश्चिम, असार १२ – रुकुम पश्चिमको सानिभेरी गाउँपालिका–४ अन्तर्गत चाख्लिमेलामा विद्युत सेवा विस्तारको कार्य अन्तिम चरणमा पुगेको छ। यही असार १३ गते (२०८२/३/१३) देखि केन्द्रिय प्रसारण लाइन मार्फत चाख्लिमेलामा पहिलोपटक विद्युत बत्ति बल्ने निश्चित भएको छ।

    यो ऐतिहासिक उपलब्धिको श्रेय स्थानीय समुदाय, समाजसेवी, बुद्धिजीवी, शिक्षक, युवाहरू तथा सरोकारवालाको सक्रिय सहभागितालाई दिइएको छ। चाख्लिमेला, राम्री, टुरा लगायतका स्थानीय बासिन्दाले दिनरात नभनी परिश्रम गरेर यो कार्य सफल बनाउन महत्त्वपूर्ण भूमिका खेलेका छन्।

    वडा अध्यक्ष मनोज बुढाथोकीले विद्युत विस्तार अभियानमा निरन्तर साथ र सहयोग गर्ने सम्पूर्णप्रति हार्दिक आभार व्यक्त गरेका छन्। उनले प्राविधिक टोलीका प्रमुख प्रकाश ओलीको नेतृत्वमा काम गरेका नन्दे बुढा, रमेश ओली, हरि ओली लगायत सम्पूर्ण प्राविधिक टोलीप्रति पनि विशेष धन्यवाद व्यक्त गरे।

    “चाख्लिमेलामा बत्ति बाल्ने सपना अब साकार हुँदैछ,” वडाध्यक्ष बुढाथोकीले भने, “यस ऐतिहासिक घडीमा सबैले देखाएको सहयोगप्रति म कृतज्ञ छु। मैले व्यक्तिगत रूपमा पनि दिनरात खटेर यो अभियानलाई अगाडि बढाएको छु, अब चाख्लिमेलावासीको अनुहारमा खुसी ल्याउने क्षण आएको छ।”

    विद्युत सेवा सुरु भएपछि स्थानीयको जीवनशैलीमा गुणात्मक सुधार आउने अपेक्षा गरिएको छ। शिक्षा, स्वास्थ्य, सञ्चार, सूचना प्रविधि तथा घरेलु उद्योगजस्ता क्षेत्रमा समेत यसले नयाँ गति दिने विश्वास गरिएको छ।