रुकुम पश्चिम, सानीभेरी गाउँपालिका–७ साबिक सिम्ली गाबिस ४ र ५ वडामा वर्षौंदेखि खानेपानीको चरम अभाव छ। यो विषयमा ८/९ वर्ष पहिले नै आवाज उठाइएको भए पनि हालसम्म न त समाधान भएको छ, न त कुनै तर्फबाट चासो देखिएको छ।
दुई वर्षअघि व्यक्तिगत प्रयासमा पाइप किनेर रु.७२,३२० खर्च गरिए तापनि पिउने पानी उपलब्ध हुन सकेन। स्थानीयहरू बिहान, दिउँसो र साँझ गरी दैनिक दुई घण्टा लामो दुरी तय गरेर पानी बोक्न बाध्य छन्। यस्तो अवस्था २१औं शताब्दीमा लाजमर्दो भएको भन्दै उनीहरूले आक्रोश पोखेका छन्।
यद्यपि केही सिमित टोलमा “एक घर, एक धारा” निर्माण भए पनि ती धेरैजसो टोल सूखा छन् वा न्यून प्रवाहमा चलिरहेका छन्। यसले समग्र गाउँको समस्या समाधान हुन सकेको छैन। गाउँका अधिकांश भागहरू अझै पनि खानेपानीको गम्भीर संकटमा छन्।
स्थानीय सरकारदेखि संघ र प्रदेश सरकारसम्म पटक–पटक जानकारी दिइसक्दा पनि अहिलेसम्म कुनै ठोस पहल नभएको जनगुनासो छ। जनप्रतिनिधिहरू चुनावताका घरदैलो गर्ने तर जिम्मेवारी निर्वाह नगर्ने प्रवृत्तिप्रति जनता आक्रोशित छन्।
स्थानीय बासिन्दाहरूले यसपालिको बजेटमै खानेपानी व्यवस्था सुनिश्चित गर्न सरकारलाई कडा खबरदारी गरेका छन्।
“सरकार बहिरो भएको अनुभूति हुँदैछ, अब चुप लागेर बस्नेवाला छैनौं,” उनीहरूले चेतावनी दिएका छन्।





