बिपी रावत दाङ, घोराही उपमहानगरपालिका–१० नारायणपुरमा अवस्थित श्री सिद्धरत्ननाथ माध्यमिक विद्यालयमा अध्यनरत एक विद्यार्थीमाथि विद्यालयकै एक कर्मचारीबाट गम्भीर कुटपिट भएको घटना सार्वजनिक भएको छ।
पीडित कक्षा ९ मा अध्ययनरत गीता केसी घोराही–८, सेवारकी हुन्। उनलाई विद्यालयका डिसिप्लिन इन्चार्ज डिआइ ले संवेदनशील अंगहरूमा समेत गम्भीर चोट लाग्ने गरी कुटपिट गरेको बताइएको छ।
यस घटनापछि वडाध्यक्ष जितेन्द्र शाहले घोर आपत्ति जनाउँदै दोषीमाथि तत्काल छानबिन गरी कानुनी कारबाही गर्न सम्बन्धित निकायसँग माग गर्नु भएको छ। वडाध्यक्ष शाहका अनुसार विद्यालयजस्तो पवित्र स्थानमा यस किसिमको हिंसात्मक व्यवहार असह्य छ र त्यसले सम्पूर्ण समुदायलाई स्तब्ध बनाएको छ।
पीडितको परिवारले हालसम्म कुनै लिखित उजुरी दिएको छैन भने विद्यालय प्रशासनले पनि आधिकारिक धारणा सार्वजनिक गरिसकेको छैन तर स्थानीयबासी तथा विद्यार्थी अभिभावकहरुले विद्यालय प्रशासनसँग यथाशीघ्र सत्यतथ्य सार्वजनिक गर्न र दोषीलाई कारबाही गर्न माग गरेका छन्।
यस घटनाले विद्यालयभित्र बालबालिकाको सुरक्षाप्रति प्रश्न उठाएको छ भने शिक्षा क्षेत्रमै चिन्ताजनक सन्देश प्रवाह भएको छ।
घटनाबारे थप अनुसन्धान भइरहेको जनाइएको छ।





