काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछाने र काठमाडौं महानगरपालिकाका मेयर बालेन शाहबीच आगामी निर्वाचनमा सहकार्य गर्ने सहमति भएसँगै नेकपा (एमाले) ले यसलाई नयाँ राजनीतिक चुनौतीका रूपमा व्याख्या गरेको छ ।
एमालेका उपमहासचिव योगेश भट्टराईले सामाजिक सञ्जालमार्फत प्रतिक्रिया दिँदै राजनीतिमा बाह्य चुनौती थपिएको बताएका छन् । चुनौती जति नै बढे पनि भागेर नभई सामना गरेर अघि बढ्ने दृढता आवश्यक रहेको उनको भनाइ छ ।
भट्टराईले यस्ता चुनौतीको सामना गर्न पार्टीभित्रको आन्तरिक एकता अझ सुदृढ बनाउनुपर्नेमा जोड दिएका छन्। उनले राष्ट्र र पार्टीका एजेण्डा बोकेर सबै नेता–कार्यकर्ता एकजुट हुनुपर्ने आग्रहसमेत गरेका छन् ।
त्यसैगरी, कार्यशैलीमा सुधार गर्दै विगतका कमजोरी र कमीकमजोरी सच्याउँदै अघि बढ्नुपर्नेमा उनले जोड दिएका छन् ।




