राप्रपा र नेकपा भित्रकाे विवादले बागमती प्रदेशसभा बैठक प्रभावित, मुख्यमन्त्रीको विश्वासको मत भोलि
हेटौँडा, भदौ ८ । बागमती प्रदेशका मुख्यमन्त्री किरण थापा मगरले विश्वासको मत लिने तयारीमा रहेको बेला सत्ता गठबन्धनभित्रकै विवाद चर्किएपछि प्रदेशसभा बैठक अन्योलमा परेको छ। राप्रपाभित्र सरकारलाई समर्थन गर्ने विषयमा देखिएको विवाद र नेकपाभित्र मन्त्री छनोटलाई लिएर देखिएको असन्तुष्टिले सोमबार बोलाइएको प्रदेशसभा बैठक पटक–पटक सर्दै अन्ततः मंगलबारका लागि सारिएकाे छ ।
मुख्यमन्त्री थापा मगरले सोमबार प्रदेशसभाबाट विश्वासको मत लिने कार्यसूची रहेकाले दिउँसो १ बजेका लागि बैठक बोलाइएको थियो। तर निर्धारित समयमा बैठक बस्न नसकेपछि प्रदेशसभा सचिवालयले बैठक साँझ ५ बजेका लागि सारेको थियो। ५ बजे पनि बैठक बस्न नसकेपछि पुनः राति ८ बजेका लागि समय निर्धारण गरिएको थियो।
तर राति ८ बजेका लागि निर्धारण गरिएको बैठकसमेत बस्न नसकेपछि प्रदेशसभा सचिवालयले विशेष कारण जनाउँदै बैठक मंगलबार दिउँसो ४ बजे बस्ने गरी पुनः समय परिवर्तन गरेको छ।
बैठक प्रभावित हुनुको प्रमुख कारणमध्ये राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) भित्र सरकारलाई समर्थन गर्ने विषयमा चर्किएको विवाद देखिएको छ। राप्रपा बागमती प्रदेश संसदीय दलका नेता उद्धव थापाले पार्टी केन्द्रको निर्णयविपरीत एमालेका किरण थापा मगर नेतृत्वको सरकारलाई समर्थन गरेपछि पार्टीभित्र विवाद चर्किएको हो। राप्रपा केन्द्रले थापालाई कारबाही गर्दै पार्टीको साधारण सदस्यसमेत नरहने गरी निष्कासन गर्ने निर्णय गरेको थियो।
राप्रपाले सरकारमा सहभागी आफ्ना तीन मन्त्री जु विष्ट, राजेन्द्र प्रजापति र गिरबहादुर तामाङलाई समेत पार्टीको निर्णयविपरीत सरकारमा सहभागी भएको भन्दै निष्कासन गर्ने निर्णय गरेकाे छ । तर उद्धव थापा पक्षले सरकारेकाे समर्थनमा मतदान गर्ने निर्णय गरिसकेकाे छ । बागमती प्रदेशसभामा राप्रपाका १२ सांसद छन् र उनीहरूको समर्थन वा अनुपस्थितिले सरकारको पक्षमा पर्ने अंकगणितमा महत्वपूर्ण प्रभाव पार्ने देखिएको छ।
यता सत्ता साझेदार नेकपाभित्र पनि सरकारमा मन्त्री पठाएकाे विषयमा असन्तुष्टि देखिएको छ। मन्त्री बन्ने आकांक्षी तथा सरकारमा प्रतिनिधित्वको विषयलाई लिएर केही सांसद असन्तुष्ट बनेक र उनीहरू प्रदेशसभा बैठकमा उपस्थित हुन नआएको समाचार सार्वजनिक भएका छन्।

नेकपा बागमती संसदीय दलले भने आफ्ना सांसदलाई मुख्यमन्त्री थापा मगरको विश्वासको मतसम्बन्धी प्रस्तावको पक्षमा मतदान गर्न निर्देशन दिइसकेको छ। पार्टीले सांसदहरूलाई बैठकमा अनिवार्य उपस्थित हुन ह्वीप जारी गरेकाे थियाे ।
एमाले, नेकपा र राप्रपाको समर्थनमा भदौ ४ गते मुख्यमन्त्री नियुक्त भएका थापा मगरका लागि विश्वासको मत लिन सत्ता गठबन्धनभित्रको आन्तरिक विवाद मुख्य चुनौती बनेको छ। प्रदेशसभामा एमालेका २५ र नेकपाका २६ गरी दुई दलका ५१ सांसद छन्। विश्वासको मतका लागि १०४ सदस्यीय प्रदेशसभामा बहुमत अर्थात् कम्तीमा ५३ सांसदको समर्थन आवश्यक पर्ने भएकाले राप्रपाको भूमिका निर्णायक बनेको छ।
यसअघि राप्रपाले सरकारमा सहभागी नहुने तथा समर्थन नगर्ने केन्द्रको निर्णय गरेको अवस्थामा बागमती प्रदेश संसदीय दलले भने सरकारलाई समर्थन गर्ने निर्णय गरेको थियो। यही निर्णयपछि केन्द्र र प्रदेश संसदीय दलबीचको विवाद सतहमा आएको हो।
दलहरूबीचको विवाद समाधान गरेर मुख्यमन्त्रीले विश्वासको मत लिन सक्ने वातावरण बनाउन सभामुखले समेत दलका नेताहरूसँग छलफल गर्नुभएको थियो। तर सोमबार दिनभर सहमति जुट्न नसकेपछि बैठकको समय पटक–पटक परिवर्तन हुँदै अन्ततः मंगलबार दिउँसो ४ बजेका लागि सारिएको हो।
अब मंगलबारसम्म राप्रपाभित्रको विवाद र नेकपाभित्र देखिएको असन्तुष्टि समाधान हुन्छ कि हुँदैन भन्ने विषयसँगै मुख्यमन्त्री थापा मगरले विश्वासको मत पाउने वा नपाउने विषय थप चासोको विषय बनेको छ।




